स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा एच पि भी खोप अभियानको उद्घाटन गरिएको छ । तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक विद्यालयबाट बिहिबार खोपको उद्घाटन गरिएको हो । तिलोत्तमाका ७० वटा विद्यालयमा यो खोप संचालन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षसम्मका किशोरी लक्षित खोप अभियान संचालन गरे अनुरुप तिलोत्तमामा पनि कक्षा ६ देखि १० कक्षासम्मका करिव ८ हजार ६ सय ३२ किशोरी लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विश्वमा नसर्ने रोगको प्रकोपका कारण लाखौ मानिस प्रभावित भएको भन्दै रोकथामका लागि यो अभियान प्रभावकारी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले सरकारले निकालेको तथ्यांकअनुसार पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको उल्लेख गर्दै न्युनिकरणका लागि यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले सबैलाई लाभ लिन आग्रह समेत गर्नुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीले विश्वमा ५लाख ७० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट ग्रसित भएको उल्लेख गर्दै दैनिक ४ जनाको मृत्यु हुने गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सेमरा बजार स्वास्थ्य चौकीका प्रमुख कमलप्रसाद पाण्डेले तिलोत्तमा नगरपालिकामा स्वास्थ्यमा सकरात्मक संकेत देखिएको दावी गर्नुभयो ।
तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रामप्रसाद ढकालले संचालन गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर १० का वडा अध्यक्ष गोपाल घिमिरे,वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक लगायतको उपस्थिति रहको थियो । भने सेमरा बजार स्वास्थ्य चौकीका रमा पन्थ र निर्मला पन्थीले खोप सहजीकरण गर्नुभएको हो ।
प्रतिकया दिनुहोस्