गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम

स्वास्थ्यसमाचार/बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट सर्वसम्मत नया नेतृत्व चयन भएको छ। अधिवेशनबाट एजाज आलमको नेतृत्वमा १४ सदस्यीय सञ्चालक समिती र ३ सदस्यीय लेखा समिती निर्विरोध चयन भएको हो।

संस्थाको निर्वाचन तालिका अनुसार सोमवार गरिएको उम्मेदवारहरुको मनोनयनमा अध्यक्ष पदमा एजाज आलमको एकल उम्मेदवारी परेको थियो भने सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएर निर्विरोध चयन गराएका थिए।

संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ,संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल, र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया, रुद्र बहादुर हमाल र हिरामणी भटराई निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी संस्थाको खुल्ला महिला सदस्यमा रेनुका खरेल र बोनिका शर्मा भटराई तथा लेखा संयोजक पदमा लोकनाथ पाण्डे र सदस्यहरुमा मणिरत्न पाण्डे तथा रविलाल पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

२०७० साल पुष १० गते स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले बुटवलको रामनगरमा मुटु अस्पताल तथा मिगौला उपचार केन्द्र सञ्चालन गर्दै आएको छ भने पाल्पाको तानसेन नगरपालिका बन्दि पोखरा, स्याङजाको वालिङ, दाङको लमहि र कपिलबस्तुको बाणगंगा नगरपालिका पिपरामा डाईलासिस सेन्टर सञ्चालन गर्दै आएको छ।

संस्थाका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले स्थापना देखि हाल सम्म ओपिडीबाट ३ लाख ७० हजार ८२ जना, ईमरजेन्सीबाट ५१ हजार २ सय ८४ जना र भर्ना बिरामी ३९ हजार दुई सय छ जना गरी ४ लाख ६० हजार ५ सय ७२ जनाको उपचार गरेको छ।

यसका साथै अस्पतालले ३ हजार ९७ जना बिरामीको एन्जियोग्राफी, १ हजार १३० जनाको एन्जियोप्लाष्ट, ५७८ जनाको अस्थायी पेशमेकर र १०५ जनाको पेरिकार्डियोसेन्टीसिस गरीएको आलमले बताए।

आलमले अहिले अस्पतालमा बरिष्ठ मुटुरोग बिशेषज्ञ ५ जना मुटुरोग बिशेषज्ञ १ जना,मृगौला रोग बिशेषज्ञ १ जना जनरल फिजिसियन २ जना रेडियोलोजिष्ट एकजना एमडी क्रिटिकल केयर १ जना र मेडिकल अधिकृत १६ जना तथा अन्य सिएमए, अनमी स्टाफनर्स, बिएसी नर्सिङ लगायत गरी ३०३ जना कर्मचारीहरु कार्यरत रहेको बताए।

आलमले राजधानी बाहिर सबैभन्दा धेरै मुटुरोग बिशेषज्ञ भएको अस्पतालको रुपमा मुटु अस्पतालले फरक पहिचानका साथ सेवा प्रवाह गरि रहेको बताए।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले लुम्विनी प्रदेशका करिव ८ सय मिर्गौलाका बिरामी मध्ये ५०१ जना बिरामीले यस अस्पतालबाट निशुल्क उपचार सेवा लिईरहेको बताए।

सम्बन्धित शिर्षक :