यतिको बिमान दुर्घटनामा तिलोत्तमाले पनि गुमायो युवा चिकित्सक

स्वास्थ्यसमाचार/ हिजो पोखरामा भएको यति एयरलाईन्सको एटिआर ७२ बिमान दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका एक चिकित्सकले समेत ज्यान गुमाएका छन्।

पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत रुपन्देहीको तिलोत्तमाका डा गणेश थापा २ साताको बिदा सकिएपछि आईतबार यति एयरलाईन्सको सोही बिमानमा काठमाण्डौंबाट पोखरा जाँदै थिए। तर उनी सहित ६८ यात्रु र चालकदलका ४ सदस्य गरी ७२ जना सवार बिमान पोखरा बिमानस्थलमा ओर्लन नपाई दुर्घटनामा पर्यो।

तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरमा रहेको आफ्नै घर अगाडीको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका ३६ बर्षिय थापाले सरकारी छात्रवृत्तिमा छिमेकी देश चिनमा चिकित्सा शास्त्र अध्यायन गरेका थिए। प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।

चीन र अष्ट्रेलियाबाट अध्ययन पुरा गरेपछि केहि वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका उनि पछिल्ला केहि वर्ष यता ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत रहेका थिए।पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा थापा पोखरामा बस्दै आएपनि चिकित्सक समेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षिय छोरी काठमाण्डौंमा बस्थे। भने बावु आमा डिंगरनगरमै बस्दै आएका छन्।

डा थापा बुवा पदम बहादुर बुचा र आमा सुर्य कुमारी बुचाका एकमात्र छोरा थिए। चिकित्सक बन्ने छोराको चाहना अनुसार बुचा दम्पत्तिले दुख गरेर चिकित्सक पढाएका थिए। छोराछोरीलाई पढाउने र घर परिवार चलाउनकै लागि बुवा पदम रोजगारीको लागि जर्मन समेत गएका थिए। छोरा चिकित्सक बनेपछि भने उनि रोजगारीबाट फर्किएर घरमै बस्दै आएका छन्।

‘दाईलाई बुवाआमाले धेरै दुख गरेर डा पढाउनुभएको थियो, अप्रत्यारिलो दुर्घटनामा परि परिवारकै एकमात्र छोरा गुमाउनुपर्दाको खबर बुवाआमाले पत्याउनै सक्नु भएको छैन,’ बहिनी नाता पर्ने यशोदाले भनिन्।

आईतबार चालकदलका चारजना सदस्य र ६८ जना यात्रु लिएर उडेको जहाज दुर्घटनामा परि एकमात्र छोरा गणेशको मृत्यु भएको खबर सुनेपछि बुचा परिवारमा बज्रपात परेको छ। उनीहरु छिमेकी जहरसिंह रानको साथमा छोराको शव बुझ्न काठमाण्डौ पुगेका छन्।
काठमाण्डौमा शव बुझेपछि दाहसंस्कारको लागि भने तिलोत्तमा ल्याउने तयारी रहेको आफन्तले बताएका छन्।

सम्बन्धित शिर्षक :