न्युनतम सेवा मापदण्ड सुधारमा प्युठान अस्पताल लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

स्वास्थ्यसमाचार/प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत रहेकोमा यस बर्ष बढेर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्ये हालसम्म सर्वेक्षण गरिएका ९ वटा जिल्लाका विभिन्न सुचकहरुमा सुधार गर्दै प्युठान तेस्रो स्थानमा परेको हो। गुल्मी, पाल्पा र कपिलबस्तुको भने न्युनतम सेवा मापदण्डहरु सर्वेक्षण गर्न अझै बाँकी छ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्युनतम सेवा मापदण्डमा सुशासन तथा ब्यवस्थापन, उपचारात्मक सेवा ब्यवस्थापन र अस्पताल सहयोग सेवा गरि मुख्य तिन पक्षहरुलाई विश्लेषण गरि नतिजा निकालिएको बताए।

उनले सबै मिलेर काम गरे राम्रो नतिजा निकाल्न सकिने बताए। उनले भने–“राम्रो नतिजा लिनका लागि अस्पतालको एउटा पक्ष राम्रो भएर हुँदैन। त्यसमा सबै पक्ष मिल्न जरुरी छ।” अस्पतालमा भौतिक संरचनादेखि अन्य अभाव भएका विषयमा आफुले सक्दो पहल गर्ने बताए। न्युनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकिएमा अस्पतालको सुधार हुने , सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकांकहरु माथि उकास्न सकिने उनको भनाई छ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले प्युठान अस्पताल एउटा हब अस्पतालको रुपमा रहेकाले अघिल्लो बर्षको तुलनामा यहाँको सर्वेक्षण नतिजा बढेको भएपनि कुन सुचकको मापन कम छ त्यसको बारेमा दैनिक जसो सबैले छलफल गरेर काम गरि सुचकमा सुधार ल्याउन निर्देशन दिएका छन्।

उनले स्वास्थ्य सेवामा सुधार ल्याउने प्रमुख पक्षको रुपमा न्युनतम सेवा मापदण्डलाई लिनु पर्नेमा जोड दिए। अस्पताल तथा न्युनतम मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुले सुशासन तथा ब्यवस्थापन,उपचारात्मक सेवा ब्यवस्थापन र अस्पताल सहयोग सेवा यी तिन वटै पक्षमा रहेर समग्र अस्पतालको कार्यलाई केन्द्रित गर्नु पर्ने न्युनतम सेवा मापदण्ड श्रोत व्यक्ति डा महम्मद नरुल होदाको भनाई छ।

कार्यक्रममा प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले हाल सम्म जिल्ला अस्पतालमा भएका भौतिक संरचना,मानव संसाधन,सहयोगी निकायहरुको कारेमा जानकारी गराएका थिए। उनले अस्पतालको भौतिक संरचनाको अभाव र भएको संरचना पनि जिर्ण भएकाले यसतर्फ सबैलाई ध्यान दिन अनुरोध गरे। अहिले अस्पतालमा सबै जसो विशेषज्ञ सेवा सञ्चालन गरेको भन्दै नभएको स्थानमा पनि छिट्टै नै व्यवस्था गरि सेवा दिने बताए।

कार्यक्रममा प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले अस्पतालको विकासका लागि आफु सदैव तयार रहेको भन्दै आगामी दिनहरुमा पनि गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालको दिर्घकालिन विकासमा जोड दिने बताए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले जिल्लाकोे हब अस्पतालको रुपमा रहेको यस अस्पतालको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए।

२०४५ सालमा १५ बेडको रुपमा स्थापना भएको जिल्ला अस्पताल २०७३ सालमा ५० बेडमा रुपान्तरण गरिएको हो। अहिले यो अस्पतालमा प्युठान सहित रोल्पा,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाका नागरिहरुले सेवा लिदै आइरहेका छन्।
विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन अस्पतालकी नर्सिंङ अधिकृत राधा केसीले गरेकी थिईन।

सम्बन्धित शिर्षक :