गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

सन्तोष महतारा

स्वास्थ्यसमाचार/ नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।

उसले एक औपचारिक कार्यक्रमको आयोजना गरी विहीबार सुरक्षा सामग्री विरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जिल्ला शाखा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे लगत्तै शाखाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय समितिमार्फत शाखालाई सर्जिकल मास्क ३५ हजार थान, पिपिई ६५ थान, सेनिटाइजर ९सानोमा ५ सय थान, थर्मल गन १० थान, चस्मा ६५ थान, फेस शिल्ड १ सय थान, गाउन ६५ थान र अक्सिजन कन्सनट्रेटर्स ४ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

प्राप्त स्वास्थ्य सामग्री मध्ये नेपाली सेनालाई १ हजार थान, सशस्त्र प्रहरी बललाई १ हजार थान, स्वास्थ कार्यालयलाई ५ सय थान, नेपाल पत्रकार महासंघलाई ५ सय थान सर्जिकल मास्क उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत कृष्ण खनाललले जानकारी दिए ।

विभिन्न साझेदार संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले देशभर निरन्तर सहयोग गरिरहेको केन्द्रीय महामन्त्री पिताम्बर अर्यालल जानकारी दिए । ‘खुल्ला सिमानाका कारण नेपालमा निरन्तर जोखिम बढिरहेको छ’ महामन्त्री अर्यालले भने, ‘पहिलो चरणमा सिमानाका कडाइ गरिएको तर दोस्रो चरणमा त्यो नगरिएकाले जोखिम गाउँ–गाउँमा बढेको छ ।’

अब आउने कोरोना भाइरस कोभिड १९ को संक्रमण बच्चाबच्चीलाई धेरै जोखिम हुने भन्दै त्यो तयारीमा निरन्तर रेडक्रस लागेको उनले बताए । भ्याक्सिन बाहेक अरु विकल्प नरहेको भन्दै रेडक्रसले निरन्तर प्रयास गरेको उनको भनाई छ । भ्याक्सिनबाट कसैलाई गराउनु हुँदैन भन्दै महामन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने पनि प्रतिवद्धता जनाए । नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी संस्था र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था भएको उनले स्पष्ट पारे । नेपाल रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष श्रेष्ठले जिल्लाका २४ वडा उपशाखामार्फत वडा–वडामा प्राप्त स्वास्थ्य सामग्री पुर्‍याउने बताए ।

यसअघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले मास्क २० हजार थान, पिपई ५८ थान, अक्सिजन कन्सनट्रेटर्स२ थान लगायतका स्वास्थ्य सामग्री जिल्लामा वितरण गरिसकेको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :