रातको करिब एक बजेको थियो। अस्पतालको बालरोग वार्डमा ड्युटीमा खटिएकी नर्सलाई आवाज आयो, ‘सिस्टर, ३४ नम्बर बेडको बच्चा आत्तिरहेको छ, ज्वरो पनि आएको छ।’
उनी तत्काल थर्मोमिटर लिएर बिरामीको शय्यामा पुगिन्। तापक्रम जाँच गर्दा बच्चालाई १०१.४ डिग्री फरेनहाइट ज्वरो आएको रहेछ। बच्चाकी आमा आत्तिएकी थिइन्।
‘आत्तिनु पर्दैन, आवश्यक उपचार गर्छौं,’ भन्दै उनले आमालाई सम्झाइन्। चिकित्स कीय निर्देशनअनुसार बच्चालाई ज्वरो कम गर्ने औषधि दिइन्।
बाक्ला कपडा हटाएर शरीरलाई सहज बनाइदिइन् र बच्चाको अवस्थालाई निगरानीमा राखिन्।
केही समयपछि बच्चा शान्त भयो। करिब ३५ मिनेटपछि पुनः तापक्रम जाँच गर्दा ज्वरो घट्दै गएको थियो। बच्चा पनि मज्जाले निदाएको थियो।
बिरामीको अवस्था सामान्य बन्दै गएपछि उनी नर्सिङ स्टेसनमा फर्किइन्। हात धुँदै गर्दा मोबाइल बज्यो। रातको एक बजेको समयमा घरबाट फोन आएको देखेर उनी एकछिन झसङ्ग भइन्।
‘यति राति घरबाट किन फोन आयो होला?’ मनमा अनेक कुरा खेलाउँदै उनले फोन उठाइन्।‘हजुर…
’उताबाट हतारिएको र आत्तिएको आवाज आयो, ‘सानुलाई १०३ डिग्री ज्वरो आएको छ। दुई घण्टादेखि ज्वरो घटेको छैन। ढिलो किन गरेको? फोन गरेर उठाउनु परेन?’
आवाज आफ्नै घरको थियो। ज्वरोले छटपटाइरहेकी छोरीको खबर सुनेपछि उनको मन एकाएक बेचैन भयो। केहीबेरअघि अरूको बच्चालाई सम्झाउँदै र उपचार गर्दै गरेकी उनी अब आफ्नै छोरीको चिन्तामा डुबिन्।
उनले घरमा राखिएको ज्वरोको औषधि दिन र बच्चालाई सहज हुने गरी कपडा लगाइदिन भनिन्। आवश्यक सावधानी अपनाउन र ज्वरोको अवस्था हेर्न पनि सम्झाइन्।
करिब आधा घण्टापछि फेरि फोन आयो।‘ज्वरो झन् बढेर १०३.८ पुगेको छ। के गर्ने? छोरी त आत्तिएकी छ।’अब उनी आफैँ पनि आत्तिन थालिन्।
अस्पतालको ड्युटीमा अरूका बच्चाको ज्वरो घटाउने जिम्मेवारी सम्हालिरहेकी उनलाई आफ्नै छोरीको अवस्थाले असहाय बनाइरहेको थियो।
उनले भिडियो कल गर्न लगाइन्। मोबाइलको पर्दामा छोरीको अनुहार देखियो।
छोरी सिरक ओढेर सुतिरहेकी थिइन्। उनले तत्काल सिरक हटाएर शरीरलाई सहज बनाउन, बाक्ला कपडा नलगाइदिन र चिकित्सकीय सल्लाहअनुसार ज्वरो व्यवस्था पन गर्न भनिन्।
‘निधारमा मात्रै पानीपट्टी लगाएर हुँदैन, बच्चाको अवस्थाअनुसार आवश्यक हेरचाह गर्नुपर्छ,’ भन्दै उनले घरमा रहेकालाई सम्झाइन्।
त्यसपछि मोबाइलको पर्दामा छोरीलाई हेरिरहिन्। छोरीको अनुहारमा ज्वरोको असर प्रस्ट देखिन्थ्यो। आमालाई देखेपछि छोरीले रुन्चे स्वरमा भनिन्, ‘मम्मी, हजुर आइस्यो न!’
त्यो आवाजले उनको मन भक्कानियो।आफ्नो काख खोजिरहेकी छोरीलाई अँगालो हाल्न, निधार छाम्न र नजिकै बसेर सुमसुम्याउन मन कसलाई नलाग्ला र?
तर उनी अस्पतालको ड्युटीमा थिइन्। अस्पतालमा पनि बिरामी बालबालिका उनको प्रतीक्षामा थिए।
उनले छोरीलाई सम्झाउँदै भनिन्, ‘निदाऊ सानु, बिहान आठ बज्छ अनि म आउँछु।’तर छोरीको एउटै आग्रह थियो, ‘मम्मी, हजुर आइस्यो न!’
अरूका सन्तानको ज्वरो घटाउँदा आफ्नै छोरीको पीडा
नर्सिङ पेसा केवल औषधि दिने, तापक्रम जाँच्ने र बिरामीको अवस्था निगरानी गर्ने काम मात्र होइन।
यसमा धैर्य, संवेदना, जिम्मेवारी र मानवीय सेवाभाव जोडिएको हुन्छ। बिरामी र उनका आफन्त लाई सान्त्वना दिनु पनि नर्सको महत्त्वपूर्ण जिम्मेवारी हो।
तर अस्पतालको शय्यामा अरूका सन्तानको ज्वरो घटाइरहेकी एउटी नर्सले आफ्नै सन्तानको ज्वरोमा चाहेर पनि सँगै बसेर हेरचाह गर्न नपाउँदाको पीडा कति गहिरो होला?
अस्पतालमा बिरामीको तापक्रम बढ्दा तत्काल उपचार र निगरानी गर्न सकिन्छ। आवश्यक औषधि दिन सकिन्छ।
बिरामीको अवस्थाअनुसार चिकित्सकसँग समन्वय गर्न सकिन्छ। तर आफ्नै सन्तानले ‘मम्मी, हजुर आइस्यो न’ भन्दै बोलाउँदा पनि ड्युटी छाडेर जान नसक्नु नर्सिङ पेसाभित्र लुकेको एउटा संवेदनशील यथार्थ हो।
नर्स पनि आमा हुन्। उनीहरूको पनि घर छ, परिवार छ, बिरामी हुँदा आमाको काख खोज्ने सन्तान छन्।
तर अस्पतालको जिम्मेवारीले उनीहरूलाई धेरैपटक आफ्नै पारिवारिक संवेदना भन्दा माथि उठेर सेवा गर्न बाध्य बनाउँछ।
विशेषगरी रातको ड्युटी, सीमित जनशक्ति र निरन्तर बिरामीको चापका बीच काम गर्ने नर्सका लागि यस्तो अवस्था झनै कठिन हुन्छ। ड्युटीमा हुँदा बिरामीको हेरचाह मा कुनै कमी हुन नदिनुपर्ने जिम्मेवारी हुन्छ।
अर्कोतर्फ घरमा आफ्नो सन्तान बिरामी हुँदा मन भने बारम्बार घरतिरै दौडिरहेको हुन्छ।
नर्स पनि आमा हुन्, उनीहरूको पीडा पनि बुझौँ
अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीका लागि नर्स सेवाको पहिलो सम्पर्कमध्ये एक हुन्। उनीहरूले बिरामीको पीडा बुझ्छन्, आफन्तलाई सम्झाउँछन् र उपचार प्रक्रियामा निरन्तर साथ दिन्छन्।
तर उनीहरू आफैँ पनि भावना भएका मानिस हुन्। उनीहरूलाई पनि थकाइ लाग्छ, पीडा हुन्छ र परिवारको साथ चाहिन्छ।
रातभर अस्पतालमा बिरामीको सेवा गर्ने नर्सले बिहान घर फर्किएर आफ्नै सन्तान को हेरचाह गर्नुपर्ने अर्को जिम्मेवारी पनि बोकेकी हुन्छिन्। कतिपय अवस्था मा उनीहरू आफ्ना सन्तानका विद्यालयका कार्यक्रम, पारिवारिक जमघट र चाडपर्व समेत अस्पतालको ड्युटीका कारण छुटाउन बाध्य हुन्छन्।
त्यसैले नर्सलाई केवल सेवा दिने जनशक्तिका रूपमा मात्र होइन, भावना, परिवार र व्यक्तिगत जीवन भएका मानवीय व्यक्तिका रूपमा पनि बुझ्न आवश्यक छ।
अस्पताल प्रशासनले नर्सहरूको कार्यतालिका, पर्याप्त जनशक्ति, विश्राम र पारिवारिक आवश्यकतालाई पनि प्राथमिकतामा राख्नुपर्छ। बिरामीको सेवाको गुणस्तर कायम राख्न स्वास्थ्यकर्मीको शारीरिक र मानसिक सहजता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
किनकि बिरामीको ज्वरो घटाउने हातहरू पनि कहिलेकाहीँ आफ्नै सन्तानको ज्वरोले काँपिरहेका हुन्छन्।


प्रतिकया दिनुहोस्