रुपन्देहीमा नसर्ने रोग बढ्दो, क्यान्सरका ४३९ र मुटुका २७६ बिरामी

स्वास्थ्यसमाचार/रुपन्देहीमा क्यान्सर, मुटु र मिर्गौलालगायत नसर्ने रोगको भार बढ्दो देखिएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८२-८३ को वार्षिक समीक्षामा सार्वजनिक गरेको तथ्यांकअनुसार विपन्न नागरिक उपचार कोषअन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सहायताका लागि सिफारिस भएका सेवाग्राहीमा क्यान्सरका बिरामी सबैभन्दा धेरै छन्।

जिल्लाभर क्यान्सरका ४३९, मुटुका २७६ र मिर्गौलाका १६२ जना उपचार सहायताका लागि सिफारिस भएका छन्। यसबाहेक सिकल सेल एनिमिया, स्पाइनल इन्जुरी र हेड इन्जुरीका सेवाग्राही पनि छन्।

पालिका अनुसार बुटवलमा क्यान्सरका ७५, मुटुका ४३ र मिर्गौलाका ३४ जना छन्। तिलोत्तमामा क्यान्सरका ६७, मुटुका ३५ र मिर्गौलाका २६ जना उपचार सहायताका लागि सिफारिस भएका छन्।

त्यस्तै सैनामैनामा क्यान्सर ४१, मुटु २७ र मिर्गौला १२, देवदहमा क्यान्सर ३५, मुटु २३ र मिर्गौला १५ जना छन्। सिद्धार्थनगरमा मुटुका ४०, क्यान्सरका ३१ र मिर्गौलाका १७ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

अन्य पालिकाको विवरणअनुसार शुद्धोधनमा क्यान्सर ३२, मिर्गौला १० र मुटु ४, सियारीमा क्यान्सर २३, मुटु १० र मिर्गौला ८, गैडहवामा क्यान्सर २२, मुटु १२ र मिर्गौला ७ जना छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्यान्सर २१, मुटु २० र मिर्गौला ५, कञ्चनमा क्यान्सर २१, मिर्गौला ७ र मुटु ५ तथा ओमसतियामा क्यान्सर १९, मुटु १४ र मिर्गौला ४ जना छन्।

त्यसैगरी रोहिणीमा क्यान्सर १४, मुटु ११ र मिर्गौला ३, कोटहीमाईमा क्यान्सर १३, मुटु ११ र मिर्गौला ७, सम्मरीमाईमा क्यान्सर ११, मुटु ४ र मिर्गौला १ जना रहेका छन्।

मायादेवीमा मुटुका १४, क्यान्सरका ८ र मिर्गौलाका १, मर्चवारीमा क्यान्सर ६, मिर्गौला ५ र मुटु ३ जना उपचार सहायताका लागि सिफारिस भएका छन्।

सैनामैनामा स्पाइनल इन्जुरीका एक र सिकल सेल एनिमियाका सात, सियारीमा सिकल सेल एनिमियाका दुई, ओमसतियामा छ र कोटहीमाईमा स्पाइनल इन्जुरीका एक तथा सम्मरीमाईमा स्पाइनल इन्जुरीका एक सेवाग्राहीसमेत छन्।

एक लाखको उपचार सहायतामा क्यान्सर अगाडि

विपन्न नागरिक उपचार कोषअन्तर्गत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारका लागि सिफारिस भएका सेवाग्राहीमा क्यान्सरको संख्या सबैभन्दा बढी छ। जिल्लाभर ४३९ क्यान्सर, २७६ मुटु र १६२ मिर्गौला रोगका सेवाग्राही रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रदेश सरकारबाट दुई लाख रुपैयाँसम्मको विशेष स्वास्थ्य उपचार आर्थिक सुविधाका लागि सिफारिस भएका सेवाग्राहीमा पनि क्यान्सरको संख्या उल्लेख्य छ। तिलोत्तमाबाट क्यान्सरका ३८, बुटवलबाट २७ र सैनामैनाबाट २२ जना सिफारिस भएका छन्।

एक लाख १९ हजारभन्दा बढीको स्क्रिनिङ

रुपन्देहीमा नसर्ने रोगको जोखिम पहिचानका लागि गत आर्थिक वर्षमा १ लाख १९ हजार ९२३ जनाको स्क्रिनिङ गरिएको थियो। लक्ष्यभन्दा १०६.०६ प्रतिशत प्रगति भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्क्रिनिङमा रक्तचाप परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा प्रि–हाइपरटेन्सन, १६ प्रतिशतमा स्टेज–१ र ६ प्रतिशतमा स्टेज–२ उच्च रक्तचाप देखिएको छ। मधुमेह परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा मात्रा उच्च पाइएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले नसर्ने रोग नियन्त्रणका लागि उपचारसँगै जीवनशैली सुधारमा जोड दिनुपर्ने बताउनुभयो।

“नसर्ने रोगबाट बच्न जनचेतना, नियमित स्क्रिनिङ, खानपान व्यवस्थापन, योग तथा नियमित हिँडडुलजस्ता गतिविधिलाई प्राथमिकता दिनुपर्छ,” उहाँले बताउनुभयो।

समयमै रोग पहिचान गरी उपचार र फलोअपलाई निरन्तरता दिन सके नसर्ने रोगबाट हुने जटिलता कम गर्न सकिने बताउनु भयो ।

यस्तै प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्रकुमार गिरी भन्नुहुन्छ, ‘अहिले नसर्ने रोग नै मुख्य स्वास्थ्य चुनौती हो। नेपालमा मृत्युका कारणमध्ये ८३ प्रतिशत नसर्ने रोग र १७ प्रतिशत सरुवा रोग छन्।’

स्वास्थ्य चेतना, स्वास्थ्य संस्थामा पहुँच, सरसफाइ तथा खानेपानीको गुणस्तरमा सुधारसँगै सरुवा रोगका बिरामी घट्दै गएका छन्।

तर धूम्रपान, मद्यपान, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताका कारण नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्दै गएको उहाँको भनाइ छ।

सम्बन्धित शिर्षक :