स्वास्थ्य कार्यालय रुपन्देहीको समीक्षा: सिद्धार्थ नगरपालिका प्रथम

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न गरेको छ । तिलोत्तमामा दुई दिनसम्म सञ्चालन भएको समीक्षामा जिल्लाका १६ स्थानीय तहमध्ये सिद्धार्थनगर नगरपालिका स्वास्थ्य क्षेत्रको समग्र मूल्याङ्कनमा पहिलो भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सिद्धार्थनगरले ७७.२३ अङ्क प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो । मर्चवारी गाउँपालिका ७४.७२ अङ्कसहित दोस्रो र कञ्चन गाउँपालिका ७२.७७ अङ्कसहित तेस्रो भएका छन् ।

सम्मरीमाई गाउँपालिका ७२.२८ चौथो र बुटवल उपमहानगरपालिका ६७.२३  पाँचौँ स्थानमा छन् । मायादेवी गाउँपालिका छैटौँ, ओमसतिया सातौँ, देवदह आठौँ, सियारी नवौँ र गैडहवा गाउँपालिका दसौँ स्थानमा रहेका छन् ।

त्यसैगरी सैनामैना नगरपालिका ११औँ, शुद्धोधन गाउँपालिका १२औँ, लुम्बिनी सांस्कृतिक नगरपालिका १३औँ, तिलोत्तमा नगरपालिका १४औँ, कोटहीमाई गाउँपालिका १५औँ र रोहिणी गाउँपालिका १६औँ स्थानमा रहेका छन् ।

मूल्याङ्कन समितिका सदस्य तथा स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डे ले स्वास्थ्यका ईन्डीकेटरहरु का आधार बनाएर  मूल्याङ्कन गरिएको वताउनु भयो।उहाँले  स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन, जनशक्ति व्यवस्थापन लगायतका विषयलाई मूल्याङ्कनमा समेटिएको बताउनुभयो ।

वार्षिक स्वास्थ्य समीक्षा प्रतिवेदनले जिल्लाका सार्वजनिक स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तथा सामग्री व्यवस्थापन कमजोर रहेको औँल्याएको छ । कतिपय स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, क्लिनिकल सेवा, सेवा प्रवाह तथा उपचारसम्बन्धी प्रोटोकलको पालना पर्याप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

औषधि तथा उपकरणको नियमित माग, आपूर्ति, भण्डारण र प्रयोगको प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ । स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन र नियमित अनुगमन आवश्यक रहेको समीक्षा कार्यक्रममा बताइएको थियो ।

समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, जिल्ला समन्वय अधिकारी यमबहादुर कुँवर र जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले स्वास्थ्य सेवा सुधारका लागि स्थानीय तहबीच समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको बताउनुभयो ।

समीक्षामा सहभागी १६ वटै स्थानीय तहलाई सम्मान गरिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लाका स्वास्थ्य सूचक, डेंगुलगायतका स्वास्थ्य समस्याको अवस्थाबारे जानकारी दिनुभएको थियो । समीक्षा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

यसअघि वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक :