नेपालमा पछिल्ला वर्षहरूमा गर्मीको मात्रा अस्वाभाविक रूपमा बढ्दै गएको छ। विशेषगरी तराई तथा सहरी क्षेत्रमा तापक्रम दिनप्रतिदिन उच्च हुँदै जाँदा “लु” (तातो हावा) एक गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको छ। सामान्य गर्मीको असहजता मात्र नभई, लुले समयमै सावधानी नअपनाइए ज्यानसम्म जोखिममा पार्न सक्ने अवस्था सिर्जना गर्छ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तन, वन विनाश, सहरीकरण र वायुमण्डलीय असन्तुलनका कारण तापक्रम निरन्तर बढिरहेको छ। यसको प्रत्यक्ष असर जनस्वास्थ्य, कृषि, श्रम क्षेत्र र समग्र जीवनशैलीमा देखिन थालेको छ। हालका वर्षहरूमा अस्पतालहरूमा लु सम्बन्धी बिरामीहरूको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथ्यांकले देखाउँछ।
तराई क्षेत्रमा लु (तातो हावा) बढी लाग्ने मुख्य कारण यहाँको समथर र कम उचाइ भएको भू–भाग हो, जसले तापक्रम छिटो बढाउँछ। वन विनाश र हरियालीको कमीले वातावरणीय सन्तुलन बिग्रिँदा गर्मी अझ बढ्छ। सहरीकरण र कङ्क्रिट संरचनाले जमिनमा ताप सोसिने क्षमता बढाउँछ। त्यसैले घामको प्रत्यक्ष असर लामो समय रहने भएकाले लुको सम्भावना बढी हुन्छ।
लु के हो र किन खतरनाक हुन्छ?
“लु”भनेको अत्यधिक तातो र सुख्खा हावाको अवस्था हो, जसले शरीरको तापक्रम नियन्त्रण प्रणालीलाई प्रभावित गर्छ। सामान्य अवस्थामा शरीरले पसिनामार्फत ताप सन्तुलन गर्छ। तर अत्यधिक गर्मीमा यो प्रक्रिया असफल हुँदा शरीरको तापक्रम असामान्य रूपमा बढ्छ र विभिन्न जटिल लक्षण देखा पर्छन्।
“लु” लाग्दा अत्यधिक टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी महसुस हुने, मुख सुक्खा हुने, मुटुको धड्कन तीव्र हुने, वाकवाकी लाग्ने, पसिना अत्यधिक आउने वा अचानक बन्द हुने जस्ता लक्षण देखिन्छन्। गम्भीर अवस्थामा बेहोस हुने र अंगहरूमा असर पुग्ने जोखिम समेत हुन्छ।
“लु” बढ्नुका प्रमुख कारणहरू
विशेषज्ञहरूका अनुसार “लु” बढ्नुका मुख्य कारणहरू जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। विश्वव्यापी तापक्रम वृद्धि, हरियाली क्षेत्रको कमी, वन विनाश र सहरीकरण यसको प्रमुख कारण हुन्।
सहरी क्षेत्रमा कङ्क्रिट संरचनाको अत्यधिक वृद्धि, खुला स्थानको कमी र प्रदूषणले पनि तापक्रम अझ बढाइरहेको छ। ग्रामीण क्षेत्रमा पनि वन विनाश र जमिनको अव्यवस्थित प्रयोगले वातावरणीय सन्तुलन बिग्रिएको छ।
त्यसैगरी, लामो समय घाममा काम गर्ने श्रमिक, किसान, सडक मजदुर तथा ट्राफिक प्रहरी जस्ता समूहहरू बढी प्रभावित हुने गरेका छन्। जीवनशैलीमा आएको परिवर्तन, असन्तुलित खानपान र पानीको कमीले पनि जोखिम थप बढाएको छ।
जोखिममा रहेका समूहहरू
“लु” सबै उमेर समूहका लागि जोखिमपूर्ण भए पनि केही समूह विशेष रूपमा संवेदनशील हुन्छन्।बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरूमा यसको असर बढी गम्भीर हुन्छ।
यस्तै खुला आकाशमुनि काम गर्ने मजदुर, किसान, सडक व्यवसायी र ट्राफिक प्रहरी बढी जोखिममा पर्छन्।शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा लु छिटो असर गर्ने भएकाले विशेष सावधानी आवश्यक हुन्छ।
नेपालमा बढ्दो तापक्रम र जलवायु परिवर्तन
विज्ञहरूको अध्ययन अनुसार नेपालमा गर्मीको लहर लामो र तीव्र बन्दै गएको छ। केही वर्षयता अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने दिनहरू बढेका छन्। कतिपय तराई क्षेत्रहरूमा ४३–४५ डिग्रीसम्म तापक्रम पुगेका उदाहरण पनि छन्।
जलवायु परिवर्तनका कारण मौसम प्रणाली असन्तुलित हुँदै गएको छ। कहिले अत्यधिक गर्मी, कहिले अत्यधिक वर्षा देखिने अवस्था सामान्य बन्दै गएको छ। यसले कृषि उत्पादन, पानीको स्रोत र जनजीवनमा प्रत्यक्ष असर पारेको छ।
लुबाट बच्ने व्यवहारिक उपायहरू
“लु” बाट बच्न सबैभन्दा महत्वपूर्ण कुरा शरीरलाई पर्याप्त पानीयुक्त राख्नु हो। दिनभरि नियमित रूपमा पानी पिउनुपर्छ। तिर्खा नलागे पनि पानी पिउने बानी बसाल्न आवश्यक हुन्छ।
नरिवल पानी, दही, मोही, लस्सी तथा ताजा फलफूलको रसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। तरबुजा, खरबुजा, काक्रो, अंगुर, सुन्तला जस्ता फलफूल पनि उपयोगी हुन्छन्।
गर्मीमा हल्का, सुती र हल्का रंगका कपडा लगाउनु उपयुक्त हुन्छ। बाहिर निस्कँदा छाता, टोपी वा स्कार्फ प्रयोग गर्नुपर्छ। कालो वा बाक्ला कपडाले शरीरमा ताप सोस्ने भएकाले थप गर्मी बढाउँछ।
दिनको अत्यधिक गर्मी हुने समय (बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म) बाहिर ननिस्कनु नै सुरक्षित मानिन्छ। यदि जानैपर्ने भए छायाँमा हिँड्ने र बीच–बीचमा विश्राम लिनुपर्छ।घरभित्र झ्याल–ढोका खोलेर हावा चल्ने वातावरण बनाउनुपर्छ। पंखा वा कूलरको प्रयोगले पनि तापक्रम कम गर्न मद्दत गर्छ।
के नगर्ने?
लु बाट बच्न केही बानीहरू त्याग्नु आवश्यक हुन्छ। खाली पेटमा घाममा निस्कनु अत्यन्त जोखिमपूर्ण हुन्छ।लामो समयसम्म घाममा कडा श्रम गर्नु, बिना विश्राम काम गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। चिल्लो, मसलेदार र भारी खाना गर्मीमा कम गर्नुपर्छ। अत्यधिक चिसो पेय पदार्थ, मदिरा र कफीको अत्यधिक सेवनले शरीरको पानी सन्तुलन बिगार्न सक्छ।
“लु” लागेमा के गर्ने?
यदि कसैलाई “लु”लागेको शंका भएमा तुरुन्त प्राथमिक उपचार गर्नुपर्छ। बिरामीलाई छायाँ वा चिसो स्थानमा सार्नुपर्छ। शरीरलाई भिजेको कपडाले पुछ्ने, चिसो पानीले हल्का सिँचाइ गर्ने वा फ्यानको हावा दिने गर्नुपर्छ। पानी बिस्तारै खुवाउनुपर्छ।यदि अवस्था गम्भीर छ—जस्तै बेहोस हुने, लगातार बान्ता हुने वा शरीर अत्यधिक तातो हुने—तुरुन्त अस्पताल लैजानुपर्छ।
सरकार र समुदायको भूमिका
विज्ञहरूका अनुसार नेपालले “लु” सम्बन्धी राष्ट्रिय रणनीति (ज्भबत ब्अतष्यल एबिल) बनाउन अत्यावश्यक छ। स्वास्थ्य क्षेत्र, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक छ।अस्पतालहरूलाई पूर्वतयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने र पूर्वसूचना प्रणाली बलियो बनाउने काम गर्नुपर्छ।स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्र पहिचान गरी विशेष योजना लागू गर्नुपर्छ। विशेषगरी तराई र सहरी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।
निष्कर्ष
“लु” आजको समयमा बढ्दो जलवायु संकटको प्रत्यक्ष परिणाम हो। यसको असर केवल स्वास्थ्यमा मात्र नभई आर्थिक, सामाजिक र कृषि क्षेत्रमा समेत देखिन थालेको छ। तर, सही जानकारी, सचेतना र सावधानी अपनाएर लुबाट ठूलो हदसम्म बच्न सकिन्छ।
पर्याप्त पानी सेवन, सही खानपान, हल्का कपडा, घामबाट बच्ने व्यवहार र समुदायस्तरीय तयारीले यसको जोखिम घटाउन मद्दत गर्छ। अबको आवश्यकता व्यक्तिगत सतर्कतासँगै सरकारी स्तरमा दीर्घकालीन रणनीति निर्माण गर्नु हो, जसले भविष्यमा बढ्न सक्ने तापीय संकटबाट जनजीवन लाई सुरक्षित राख्न सक्छ।

प्रतिकया दिनुहोस्