सरकारी अस्पतालमा ९ करोड रुपैयाँ बराबरका म्याद नाघेका औषधि

स्वास्थ्यसमाचार/ सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेको भेटिएको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा ९ करोड १७ लाख मूल्य बराबरको औषधिजन्य मालसामान र कीट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन् ।

स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ ।

प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँका औषधिहरूको म्याद सकिएको छ ।त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार र वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ करोड १९ हजार ९६ हजार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार म्याद सकिएका सामग्री थुप्रिएको महालेखाले जनाएको छ ।

सम्झौताअनुसार म्याद समाप्त भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नगरिँदा राज्यको ठूलो लगानी खेर गएको महालेखाले औंल्याएको छ ।

प्रतिवेदनमा औंल्याएको छ, ‘ स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ ।’

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :