सैनामैनाका वडा नं. ५, ८ र ९ का स्वास्थ्य संस्थामा सामाजिक परीक्षण : औषधि, कर्मचारी, भवनदेखि शौचालयसम्म समस्या

सैनामैना नगरपालिका वडा नं. ५, ८ र ९ का आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा, सुविधा र गुणस्तर सम्बन्धी आमभेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा स्वास्थ्य संस्थाको अवस्था, सेवा प्रवाह र समस्याबारे खुला छलफल गरिएको थियो।

वडा नं. ५ मा वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन समितिका अध्यक्ष धनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, स्वास्थ्य संस्था प्रमुख पार्वती भण्डारीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा दरबन्दीअनुसार कर्मचारी अभाव, पर्याप्त औषधि नपाइने, नगरपालिकाबाट पठाइएका केही उपकरण गुणस्तरीय नभएको लगायतका विषय उठाइएको थियो। उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य शाखा प्रमुख पन्थीले औषधि आपूर्ति र कर्मचारी व्यवस्थापनबारे जानकारी दिनुभएको थियो।

त्यस्तै वडा नं. ८ मा वडा अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव, स्वास्थ्य संस्था प्रमुख बिन्दु अर्याल तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य संस्थाको भवन साँघुरो भएको, शौचालयको अभाव, कर्मचारी कमी तथा औषधि व्यवस्थापनसम्बन्धी समस्या उठाइएको थियो।

वडा नं. ९ मा वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा स्वास्थ्य संस्था प्रमुख हरि ढकालको सहभागितामा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा शौचालय अभाव, कर्मचारी कमी, चिया–खाजा पकाउने स्थानसमेत नभएको जस्ता समस्या सार्वजनिक गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष पाण्डेले चालु आर्थिक वर्षको बजेटमार्फत शौचालय निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो।

सामाजिक परीक्षणले स्वास्थ्य संस्थाको सेवा प्रभावकारिता, पारदर्शिता र जवाफदेहितामा सुधार ल्याउने विश्वास गरिएको छ। स्थानीय नागरिकले आफ्ना समस्या तथा सुझाव प्रत्यक्ष रूपमा राख्न पाउने भएकाले सेवा सुधारमा यसले महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ। यस्ता सामाजिक परीक्षण कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :