स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका वडा नं. ५, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ५, ८ र ९ ले सञ्चालन गरेको घरधुरी सर्वेक्षण कार्यक्रममा जन्मदेखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाबारे अध्ययन गरिएको थियो।
सर्वेक्षणका क्रममा जन्मदेखि १६ महिनासम्मका १०२ जना र १६ देखि ५९ महिनासम्मका २२७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ भने ४ जना बालबालिका आंशिक रूपमा छुट भएका भेटिएका थिए। ती बालबालिकालाई नियमित खोपमार्फत पूर्ण खोप प्रदान गरिएपछि सम्बन्धित वडाहरूलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो।
बिहीबार आयोजित कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलको अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, स्वास्थ्य संस्था प्रमुख पार्वती भण्डारीलगायतको सहभागितामा वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।
त्यस्तै वडा नं. ८ मा वडा अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा वडा सचिव, स्वास्थ्य संस्था प्रमुख बिन्दु अर्याल तथा स्थानीयवासीहरूको सहभागितामा वडा नं. ८ लाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ।
यस्तै वडा नं. ९ लाई पनि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा स्वास्थ्य संस्था प्रमुख हरि ढकाललगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले अन्य वडाहरूलाई पनि क्रमशः पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै लगिने जानकारी दिनुभयो।


प्रतिकया दिनुहोस्