मेडिकल दर्तामा बिचौलिया सक्रिय: १५ देखी२०हजार असुली,दर्ता निःशुल्क भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीको स्पष्टिकरण

स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यलयमा मेडिकल तथा अन्य स्वास्थ्य संस्थाको दर्ता प्रक्रिया निःशुल्क भए पनि बिचौलियाले कागजपत्र मिलाइदिने बहानामा १५ देखि २० हजार रुपैयाँसम्म असुल्ने गरेको खुलासा भएको छ। यसप्रति स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक रोशनलाल चौधरीका अनुसार मेडिकल दर्ता तथा नवीकरणका लागि कुनै पनि शुल्क नलाग्ने स्पष्ट छ। उनले बाहिरका व्यक्तिहरूले अनावश्यक पैसा उठाएको सूचना आएको बताउँदै त्यस्ता व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए।

त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले पनि दर्ता प्रक्रियामा कुनै शुल्क नलाग्ने स्पष्ट पार्दै सबै सेवाग्राहीलाई सिधै कार्यालयमै सम्पर्क गर्न आग्रह गरेकी छन्। उनले बिचौलियालाई प्रवेश निषेध गरिएको र आफ्नै फाइल लिएर दर्ता गर्नुपर्ने व्यवस्था रहेको बताइन्।

रुपन्देहीमा करिब ४ सयभन्दा बढी निजी क्लिनिक तथा पोलिक्लिनिक बिना दर्ता सञ्चालनमा रहेको बताइन्छ। पछिल्ला दिनमा स्वास्थ्य निकाय र स्थानीय तहले अनुगमन तीव्र बनाउँदै दर्ता प्रक्रिया अगाडि बढाइरहेका छन्।

यसैबीच, बिना दर्ता सञ्चालन भएका क्लिनिकमा गलत उपचारका कारण घटना समेत भएपछि प्रशासनले कडाइ गरेपछि व्यवसायीहरू दर्ता प्रक्रियामा आउन थालेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :