३५ वर्ष पछि स्वास्थ्यमा ९सय७७ दरबन्दी थपिदै, अर्थले दियो स्विकृति

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ३५ वर्ष पछि ठूलो संख्यामा प्राविधिक समूहका स्थायी जनशक्ति पाउने भएको छ ।

मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यले तयार पारेको ९७७ जना स्थायी दरबन्दी तेरिज अर्थ मन्त्रालयले स्वीकृत गरेपछि ठूलो संख्यामा जनशक्ति थपिने भएको हो । यसअघि स्वास्थ्यले २०४८ सालमा ठूलो संख्यामा प्राविधिक जनशक्ति थप्ने काम गरेको थियो ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार पाँचौँ तह देखि एघारौँ तहसम्मका ९७७ दरबन्दी थप्ने स्वास्थ्यको प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको छ ।

‘स्वास्थ्यको तल्लो तह देखि माथिल्लो तह (एघारौँ तह) सम्म विभिन्न पदका ९७७ दरबन्दी थप्ने स्वास्थ्यको प्रस्ताव हिजो स्वीकृत भएको छ । यसमा आवश्यकता अनुसार तह र विषय मिलाइएको छ,’ सचिवालयका एक सदस्यले भने ।

त्यसअघि नै स्वास्थ्यले कानून मन्त्रालयबाट समेत राय लिईसकेको थियो ।अब अर्थ कानूनबाट ‘हरियो संकेत’ आएपछि स्वास्थ्यले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ । दरबन्दी थप्नका लागि सबैभन्दा अडचन अर्थबाट नै हुने गर्दथ्यो तर अब स्वीकृति पछि ढिला नगरी स्वास्थ्यले मन्त्रिपरिषद्को बैठकमा पेश गर्दछ । त्यहाँबाट स्विकृत हुँनासाथ पदपूर्तिका लागि दरखास्त आव्हान हुनेछ ।

३५ वर्ष अघि नेपालको जनसंख्या १ करोड ८० लाख थियो । अहिले बढेर ३ करोडको आसपासमा पुग्यो । तर दरबन्दी भने बढ्न सकेको थिएन । पुरानै जनशक्तिमा काम गर्नु पर्ने बाध्यताका कारण सरकारले अपेक्षाअनुसार सेवा दिन सकेको थिएन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :