लुम्बिनी प्रादेशिक अस्पतालः एचआइभी परिक्षण र उपचारमा नौलो आयाम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एचआइभीको उपचार सहज र प्रभावकारी बन्दै गएपछि परिक्षण गराउने र एआरटी (Antiretroviral Therapy) उपचारमा आबद्ध हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ।

अस्पतालको एआरटी शाखाको पछिल्ला तथ्यांक अनुसार हाल १६८३ जना एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन गरिरहेका छन्। एआरटी शाखा प्रमुख भीम प्रसाद ज्ञवालीका अनुसार नियमित उपचारमा रही भाइरल लोड ‘शून्य’ भएका व्यक्तिहरूबाट अन्य व्यक्तिमा एचआइभी संक्रमण नहुने भएकाले यस सम्बन्धी लाञ्छना र भेदभाव समेत क्रमशः घट्दै गएको छ।

गत आर्थिक वर्षमा मात्र १०५ जनाले नयाँ रूपमा एआरटी उपचार सुरु गरेका थिए भने १६०२ जनाको भाइरल लोड र १४८ जनाको CD4 परीक्षण गरिएको थियो।

एएचएफ नेपालद्वारा आयोजित सरोकारवालाहरूको समन्वयात्मक बैठकमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले टेकु पछिको दोस्रो ठूलो अस्पतालका रूपमा एचआइभी सेवा प्रवाह भइरहेको बताए।

डा.ढकालले नेपाल सरकारले यस अस्पताललाई “Center of Excellence for HIV Treatment”को रूपमा तोकेको उल्लेख गर्दै  उपचारमा कुनै कमी हुन नदिन प्रतिबद्ध रहेको जनाए।

एएचएफ नेपालका लुम्बिनी प्रदेश प्रमुख धर्मराज भट्टराईले प्रस्तुत गरेको कार्यक्रमको प्रगति तथा समीक्षासम्बन्धी प्रतिवेदनमा सरोकारवालाहरूले टिप्पणी र सुझाव दिएका थिए।

सरोकारवालाहरूको समन्वयात्मक बैठकमा  स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा देवी थापाले जिल्ला र पालिका स्तरमा अभिलेख तथा डाटा अलग राख्नुपर्ने र योजनागत रूपमा काम गर्दा सहज हुने बताइन्।

उनले समयमा परिक्षण र समयमा उपचार सुरु गर्न सके एचआइभी अब सामान्य रूपमा नियन्त्रण योग्य रोग बन्दै गएकोमा जोड दिइन्।

समन्वयात्मक बैठकमा   जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठ अधिकृत टिका राम अधिकारी , ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डे तथा अन्य सरोकारवालाहरुको सहभागी रहेको भट्राईले बताए।

 

सम्बन्धित शिर्षक :